भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश अन्तर्गत साविकमा रहेको ७ वटा पूर्वाधार विकास कार्यालय र ४ वटा शहरी विकास तथा भवन कार्यालय एकीकृत गरि कोशी प्रदेश सरकारको २०८२ साल जेष्ठ १९ गतेको मन्त्री परिषदको निर्णयबाट स्वीकृत भई सडक, पुल, झोलुंगे पुल र आवास, भवन तथा शहरी विकास सम्बन्धी आयोजना संचालन गर्न एकीकृत कार्यालयको रुपमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पुर्वाधार विकास निर्देशनालय मातहत रहने गरि मिति २०८२/04/०२ गते कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री मा. श्री भूपेन्द्र राई ज्युबाट यस पूर्वाधार विकास कार्यालय, सोलुखुम्बु को उदघाटन भएको हो | यस कार्यालयको कार्यक्षेत्र सडक, पुल, झोलुंगे पुल र आवास, भवन तथा शहरी विकास सम्बन्धी आयोजना हेर्ने गरि सोलुखुम्बु जिल्ला रहेको छ | सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका, सल्लेरीमा यस कार्यालयको मुख्य प्रशासनिक भवन अवस्थित रहेको छ |

पूर्वाधार विकास कार्यालय, सोलुखुम्बुले प्रादेशिक लोकमार्ग, सडकहरु तथा पक्की पुलहरुको निर्माण, मर्मत-सम्भार र स्तरउन्नति गर्ने कार्य गर्दछ | यसै अन्तर्गत प्रादेशिक महत्वका झोलुंगे पुलहरुको निर्माण र मर्मत गर्ने, साथै सरकारी भवन, विद्यालय, स्वास्थ्य केन्द्र तथा अन्य सामाजिक र सार्वजनिक भवनहरुको निर्माण, मर्मत, सम्भार तथा स्तरउन्नति गर्ने जिम्मेवारी यस कार्यालयको रहेको छ | यस कार्यालयले शहरी विकास योजना अन्तर्गत शहरी पूर्वाधार निर्माण तथा सुधार गर्ने, सार्वजनिक तथा निजी क्षेत्रका साझा आयोजनाको कार्यन्वयन गर्ने, ठेक्का प्रक्रिया अनुरुप आयोजना कार्यान्वयनको रेखदेख, सुपरिवेक्षण र स्तरीकरणको काम गर्ने, निर्माण गतिविधिको समन्वय, निर्देशन, अनुगमन तथा मूल्याङ्कन गरेर सुशासन सुनिश्चत गर्ने कार्य गर्दछ | साथै सामाजिक समावेशिता, पर्यावरणीय प्रभाव मूल्याङकन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आयोजना कार्यान्वयन गर्दा वातावरणीय तथा सामाजिक चुनौतीहरुको समाधान गर्ने काम पनि गर्दछ |

यस कार्यालयले निर्माण कार्यका लागि कानुनी अनुमति प्राप्त गर्ने, कानुनी प्रक्रियामा उत्पन्न समस्या समाधान गर्ने, निर्माण योजनामा सम्बन्धित प्रशासनिक प्रक्रियाको पालना गर्ने, सार्वजनिक सम्पत्तिको गुणस्तर जाँच र प्रमाणित सामाग्री प्रयोग सुनिश्चत गर्ने जिम्मेवारी लिएको छ | वार्षिक प्रतिवेदन तयार गर्ने, सम्पन्न आयोजनाको कार्यक्षमता र परिणाम मूल्याङ्कन गर्ने, बैठक तथा छलफलमार्फत सिर्जनात्मक मूल्याङ्कन र सुधारका उपायहरुको प्रस्ताव गर्ने, विभिन्न तह, समुदाय तथा सरकारी निकायहरुसँग समन्वय गरी आयोजनाको कार्यान्वयनमा सहकार्य पुरयाउने काम समेत यस कार्यालयले गर्दछ |

त्यस्तै, नयाँ प्रविधि र समयसापेक्ष निर्माण विधिहरुको प्रयोग गरी निर्माण कार्यलाई प्रभावकारी तथा खर्च-कटौती हुने ढंगले अघि बढाउने, बजेट व्यवस्थापन गर्ने, आयोजनाका लागि आवश्यक वित्तीय स्रोतको वितरण तथा अनुमान गर्ने, आर्थिक अनुशासन र खर्च नियन्त्रण गर्ने, आयोजना कार्यान्वयनलाई पारदर्शी र प्रभाकारी बनाउने कार्य पनि यस कार्यालयको रहेको छ |